प्राकृतिक जीवनशैली अपनाऔः नगरप्रमुख पाण्डे

तुलसीपुर, २४ असार ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्राकृतिक जीवनशैली अपनाउन सबैलाई आग्रह गरेका छन् । उनले प्रकृतिसँग मानिसलाई स्वस्थ राख्न सक्ने क्षमता भएको भन्दै यस्तो आग्रह गरेका हुन् । दाङ्ग प्राकृतिक चिकित्साको केन्द्र भएको भन्दै नगरप्रमुख पाण्डेले जडिवुटी उत्पादनमा सबैले ध्यान दिनुपर्ने बताए । राप्ती आयुर्वेद चिकित्सालय दोघरेले आयोजना गरेको कोरोना संक्रमणबाट बँच्नका लागि आयुर्वेदको महत्व विषयक जनप्रतिनिधिहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले आयुर्वेदको उपयोगिताका बारेमा वुझाउन नसक्दा धेरै मानिसमा भ्रम रहेकोमा जोड दिए ।
कार्यक्रममा आयुर्वेदको महत्वका बारेमा प्रस्तुती राख्दै आयुर्वेद अध्ययन संस्थान बेलझुण्डीका डिन डा. सन्जय पोख्रेलले मानव जीवनका हरेक कुरामा आयुर्वेदको महत्व रहेको वताए । आयुर्वेदको उत्पत्ती नेपालमा भएता पनि भारतले यस क्षेत्रमा धेरै प्रगती गरेको उनको भनाई छ ।
प्रादेशिक आयुर्वेद औषधालय विजौरीका डा. गोकर्ण दाहालले कोरोना संक्रमण रोक्नका लागि आयुर्वेदको निकै महत्व रहेको वताए । उनले नेपालमा उत्पादन भएका विभिन्न जडिबुटीहरु कोरोना संक्रमण न्युनीकरण गर्नका लागि फलदायी हुने कुरामा जोड दिए । जडिवुटीको सेवनले व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएको भन्दै नेपालीहरुका घर आँगनमा केयौ जडिवुटीहरु उत्पादन हुने कुरा वताए ।
राप्ती आयुर्वेद चिकित्सालय दोघरेका प्रमुख डा. मदन कुमार विसीले चिकित्सालयले गरेका विभिन्न कामका बारेमा जानकारी गराएका थिए । चिकित्सालयकी डा. आश्मा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।
तपाईंको प्रतिक्रिया