कोरोनाबाट ज्यान जानेको संख्या ७९ पुग्यो

 साउन २६, २०७७

तुलसीपुर,२६ साउन ।

कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुइ तथा बाँके र पर्सामा एक–एक जना रहेका छन् । काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको किर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार बाँकेको कोहलपुर नगरपालिका दुइका ७० वर्षका महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको थियो । २३ गते अस्पताल भर्ना भएका महिला उच्च रक्तचापको विरामी रहेको पाईएको छ । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षका महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

तपाईंको प्रतिक्रिया