नरैनापुरमा फेरि देखियो कोरोना
नेपालगञ्ज, ७ भदौ ।
बाँकेको नरैनापुरमा फेरि कोरोना देखिएको छ । बाँकेमा आइतबार आठ जना संक्रमित थपिदा नरैनापुरका एकजना परेका हुन् । नरैनापुर-५ की २५ वर्षीया महिलामा कोरोना देखिएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँकेमा शुरुवाती चरणमा कोरोना संक्रमित देखिंदा नरैनापुर हटस्पट बनेको थियो । सय बढीमा कोरोना देखिएको नरैनापुरमा सेना परिचालन गरेर मान्छेको भीडभाड र भारतबाट जथाभावी आउने क्रम रोकिएपछि कोरोना देखिन छोडेको थियो ।
त्यसपछि लामो समयसम्म कोरोना देखा परेको थिएन । बाँकेमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति पनि नरैनापुरकै थिए । आइतबार थपिएका संक्रमितमा नेपालगञ्जका ५ जना र कोहलपुरका दुई जना रहेका छन् । नेपालगञ्ज र कोहलपुरमा दैनिकजसो नै संक्रमित थपिने क्रम जारी रहेको छ ।
बाँकेमा संक्रमितको संख्या ८ सय २९ पुगेको छ । २ सय ११ जना उपचारमा छन् भने ६ सय १४ जना डिस्चार्ज भइसकेका छन् ।
तपाईंको प्रतिक्रिया