सोह्र श्राद्ध सुरु

 भदौ १७, २०७७

काठमाडौँ, १७ भदौ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

तपाईंको प्रतिक्रिया