चिनजानकै व्यक्तिबाट बलात्कार

 असोज १४, २०७७




तुलसीपुर ।

नेपालमा भएका ८२ प्रतिशत बलात्कारसँग सम्बन्धित घटना आफन्तबाटै हुने गरेको पाइएको छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनजानकै व्यक्ति वा निकट परिवारका सदस्यबाट ८२.२७ प्रतिशत जबरजस्ती करणीको घटना भएको तथ्यांक प्रस्तुत गरे ।

थापाका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४ हजार ८७० वटा जबरजस्ती करणीको घटना भएको छ । यसबाट ४ हजार ९१९ जना पीडित छन् । यो तथ्याङ्कमा प्रहरीमा दर्ता भएका केसहरुमात्रै समावेश रहेको थापाले जानकारी दिए ।

गत साउनमा २६४ र भदौमा २३२ गरी दुई महिनामा ४९६ वटा जबरजस्ती करणीको घटना प्रहरीमा दर्ता भएको र त्यसबाट ४९९ जना पीडित भएको थापाले बताए ।

साउन र भदौको दुई महिनालाई ६३ दिनले भाग गर्दा औसतमा प्रतिदिन ७ वटा घटना हुन भएको देखिएको उनले सुनाए । थापाका अनुसार विगतका वर्षहरुमा औसतमा प्रतिदिन ६ वटासम्म जबरजस्ती करणीका घटना भएका छन् ।

तपाईंको प्रतिक्रिया