उद्यमी बन्न कपुरकोटको जोड

 असार २१, २०७८

सल्यान ।

कपुरकोट गाउँपालिकाले तरकारी खेति तथा बाख्रा पालन गरिरहेका लघु उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको हो । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सोमबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले ब्यवशायीक तरकारी खेति गरिरहेका २५ जना लघु उद्यमीहरुलाई खेतिका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरण गरे ।

थोपा सिंचाई प्रविधि, स्प्रे टंकी, पञ्जा, मास्क, एप्रोन तथा बुट हस्तान्तरण गरिएको हो । प्रविधि हस्तान्तरण गर्दै अध्यक्ष सेनले गाउँपालिकाले दिएको सामग्रीलाई आफैले किनेको सोँचेर उपयोग गर्न आग्रह गरे । पालिकालाई समृद्धि तर्फ लैजान कृषि क्षेत्रको विकासमा सेनले जोड दिए । गाउँपालिका क्षेत्रमा नयाँ उद्यम सिर्जना गर्न र उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालीम र प्रविधि हस्तान्तरणसम्मको कार्य गरिरहेको अध्यक्ष सेनले बताए ।

यस्तै कपुरकोट गाउँपालिकामा बाख्रापालन ब्यवशाय गरिरहेका ४२ जना उद्यमीलाई खोर निर्माणका लागि जस्ता पाता पनि प्रदान गरिएको छ । प्रति उद्यमी १ बण्डलका दरले ४२ जनालाई जस्ता पाता प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक दिपेन्द्र शाहीले जनाए । गाउँपालिकामा दर्ता भएका लघु उद्यमीहरुलाई सामग्री प्रदान गरिएको हो । गाउँपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्रीहरु वितरण गरिएको उनले जनाए ।

संयोजक शाहीका अनुसार कपुरकोटका ६ वटै वडाहरुमा सिप विकास तालिम पनि सञ्चालन गरिएको छ । साबुन बनाउने ततलिम, पशुपालन तालिम, च्याउ खेती तालिम तथा च्याउको विउ वितरण, कटाई सिलाई तालिम संगै मेसिन वितरण जस्सता कार्यक्रमहरु चलु आर्थिक वर्षमा सम्पन्न गरिएको उनले बताए ।

तपाईंको प्रतिक्रिया