असोजमा नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने
काठमाडौं । शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो । शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिए । आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गरिदिन अनुरोध गरेको छ ।
केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाएको भए पनि पछिल्लो विवरणसमेत थप गर्न भनिएको आयोगले जनाएको छ । आयोगको आग्रहपछि केन्द्रले आगामी भदौ १० सम्म रिक्त विवरण पठाउन जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । अध्यक्ष रेग्मीले चैत मसान्तसम्म १२ हजार शिक्षकको दरबन्दी रिक्त रहेको विवरण आयोगमा प्राप्त भएको जानकारी दिनुभयो । हरेक दिनजसो शिक्षकहरू सेवानिवृत्त हुने भएकाले बढीमा १५ हजारसम्म शिक्षक दरबन्दी रिक्त भएको हुनसक्ने आयोगको अनुमान छ ।
तपाईंको प्रतिक्रिया