मन्त्रिपरिषद् विस्तार बारे सहमति जुटेन

 असोज २१, २०७८

काठमाडौं । मन्त्रालय र मन्त्रीहरुको नाम टुंग्याउन बसेको सत्ता गठबन्धनको बिहीबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ । बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकले विभिन्न मोडलमा छलफल गरेको भए पनि सहमति जुटाउन भने सकेन ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले कैयौं दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना खेप्दै आएका छन् । गत मंगलबार नै मन्त्रालयको भागबण्डा टुंगिएको बताइए पनि एकीकृत समाजवादीभित्र असन्तुष्टि सिर्जना भएको थियो ।

बैठकले प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको बताइएको छ । ती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरू छन् ।

तपाईंको प्रतिक्रिया