प्रधानन्यायाधीशमाथि चौतर्फी दबाब, न्यायाधीशहरुले आज भेटेरै राजीनामा माग्ने
काठमाण्डाै । इजलास नै बहिष्कार गरेर विरोधमा रहेका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने भएका छन् । हिजो प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले आज भेटेरै राजीनामाका लागि आग्रह गर्ने तयारी गरेका हुन् । न्यायाधीशहरुले बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरासँग भेट्ने तयारी छ ।
हिजो उनीहरुले न्याय क्षेत्रको हितका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नु पर्ने भन्दै इजलास बहिष्कार गरेका थिए । न्यायाधीशहरुले इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्र शम्शेर जबरामाथि थप दबाब परेको छ । हिजोका लागि १० वटा इजलास तोकिए पनि कुनै पनि इजलासमा मुद्दाको सुनवाइ हुन सकेन ।
राजनीतिक मुद्दामा सौदाबाजी गर्ने, जघन्य अपराधको अभियोगमा जेल बसिरहेकालाई तजबिजका आधारमा घर पठाइदिने, न्यायिक सुनुवाइ जानाजान ढिलाइ गरिदिने शैलीमा अभ्यस्त प्रधानन्यायाधीशले अब न्यायिक नेतृत्व गर्न नसक्ने निष्कर्षमा सर्वोच्च अदालतका अरू न्यायाधीशहरु पुगेका छन् । यसैबीच, नेपाल बार एसोसिएशनको सल्लाहकार परिषद्को बैठक आज बस्दैछ ।




तपाईंको प्रतिक्रिया