सबै नागरिकलाई काेराेनाविरुद्धकाे खाेप लगाउने लक्ष्य पूरा गर्न प्रधानमन्त्रीकाे निर्देशन

 कार्तिक ११, २०७८

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई काेभिड–१९ (काेराेना भाइरस) विरुद्धकाे खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

आज बिहीवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कुल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

असोज मसान्तसम्म एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

तपाईंको प्रतिक्रिया