पास हुन न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने

 पुष १२, २०७८

काठमाण्डाै । कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् ।शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका-२०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । निर्देशिका अनुसार माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीले कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ ।

सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अङ्क प्राप्त गर्न नसकेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि परीक्षा दिनुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई तीन पटकसम्म ग्रेडवृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

लेटर ग्रेडिङ प्रणाली अनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम (ए प्लस) मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत अङ्क ल्याए ग्रेडसिटमा अत्युत्तम (ए) उल्लेख गरिनेछ । यस्तै ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कम सन्तोषजनक (सी प्लस), ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य (सी) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी) को मान्यता दिइनेछ । पहिले (डी प्लस) लाई पनि ग्रेडिङ गरिन्थ्यो । अहिले यो तह हटाइएको छ ।

३५ भन्दा कम अङ्क ल्याउनेलाई अवर्गीकृत (एनजी) उल्लेख गरिनेछ । ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैन ।

तपाईंको प्रतिक्रिया