लुम्बिनी प्रदेशमा एक महिनामा ८८१ सवारी दुर्घटना, ६२ जनाको मृत्यु

 ६ मिनेट अगाडि

तुलसीपुर । लुम्बिनी प्रदेशमा कात्तिक महिनामा ८८१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ६२ जनाको मृत्यु भएको छ भने १ हजार १०५ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदा प्रसाद चौधरीका अनुसार कात्तिक महिनामा भएका दुर्घटनामा ८८१ वटा सवारी साधन संलग्न रहेका थिए । दुर्घटनामा परेका १ हजार ६३ जनालाई प्रहरीले उद्धार गरेको थियो ।

चौधरीका अनुसार सवारी दुर्घटनाका प्रमुख कारण तीव्र गति, चालकको अक्षमता, चालकको लापरबाही, मादक पदार्थ सेवन तथा भौगोलिक अवस्था रहेका छन् ।

त्यस्तै, प्रहरीले चेकिङका क्रममा ८ हजार ३२१ वटा सवारी चालकलाई  कारबाही गरेको छ । उक्त कारबाहीबाट १ करोड ३ लाख ७४ हजार २८० रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले कात्तिक महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

तपाईंको प्रतिक्रिया