काम नलाग्ने नोट नष्ट गर्न राष्ट्र बैंकले ल्यायो अत्याधुनिक मेसिन

 फागुन १३, २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ । यस अघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएको थियो । अब भने मेसिनले नोट नष्ट गर्नेछ । ती नोटहरुबाट अब ब्रिकेट (गुइँठा) उत्पादन हुनेछ । यस्ता गुइँठाहरु आगो ताप्न प्रयोग गर्न सकनेछ । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विराटनगर कार्यालयमा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरे । चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्पmत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले बताएको छ ।

सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुवात एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राखे ।

बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिए ।

तपाईंको प्रतिक्रिया