सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने उच्चस्तरमा समझदारी

 फागुन १३, २०७८

काठमाडौं । एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादी केन्द्रको निर्णयअघि नै शीर्ष तहमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी बनेको छ ।

माओवादी बैठकबाट निस्किएका एक प्रभावशाली नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकखालको समझदारीमा पुगेका छन् ।

यसमा उपेन्द्र यादवको भूमिका प्रष्ट खुलिसकेको छैन । जसपाकै डा. बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा मतदानको लागि तयार छ । स्रोतकाअनुसार आइतबार सदनमा एमसीसीमाथि सैद्धान्तिक छलफलसँगै पारित गर्ने तयारी छ ।

त्यसका नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी निर्णयार्थ पेश हुँदा सदनको कारबाही बहिष्कार गर्ने र उपस्थित सांसद संख्याको सामान्य बहुमतले एमसीसी पारित गरेर गठबन्धन जोगाउने समझदारीमा नेताहरू पुगेको स्रोतले जनाएको छ ।

नेकपा एमालेले संसदको अवरोध कायमै राख्दा उसका सांसदको संख्या गणना नहुने र माओवादी तथा नेकपा एसले बहिष्कार गरेपछि मत विभाजन माग्ने २८ जना सांसद नपुग्ने भएकाले ध्वनीमतबाट एमसीसी अनुमोदन गर्ने तयारी भएको छ ।

तपाईंको प्रतिक्रिया