अझै ३३ लाख थान पुस्तक छाप्न बाँकी

 जेठ १७, २०७९

भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो ।

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया