दाङका किसानलाई ३२ सय मेट्रिक टन मल आवश्यकता

 असार १०, २०७९


दाङ । दाङमा बर्खे सिजनका लागि ३२ सय मेट्रिक टन मलको आवश्यकता देखिएको छ । बर्खे खेतीका लागि किसानले ३ हजार २ सय मेट्रिक टन रासायनिक मल माग गरेका हुन् । दाङमा ३९ हजार ९ सय ५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

किसानको मागअनुसार जिल्लामा बर्खे सिजनका लागि युरिया दुई हजार मेट्रिक टन अर्थात् ४० हजार बोरा र डिएपी १२ सय मेट्रिक टन अर्थात २४ हजार बोरा मलको आवश्यकता रहेको कृषि सामग्री केन्द्र घोराही शाखाका प्रमुख टोपाराम गौतमले जानकारी दिएका छन् । उनले जिल्लामा किसानको मागको आधारमा आवश्यक मलको बारेमा केन्द्रलाई जानकारी गराएको बताए । ‘किसानको मागको आधारमा जिल्लामा ३२ सय मेट्रिक टन रासायनिक मलको आवश्यकता देखिएको छ’, शाखा प्रमुख गौतमले भने, ‘त्यहीअनुसार जिल्लामा मलको माग गरेर केन्द्रमा जानकारी गराएका छौँ ।’

कृषि सामग्री केन्द्र घोराही शाखाकाअनुसार हालसम्म बर्खे खेतीका लागि भनेर युरिया १४ सय अर्थात ७६ दशमलव ५५० मेट्रिक टन, डिएपी ७ सय ८५ मेट्रिक टन र पोटास ५१ दशमलव २५० मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ । यसैगरी तुलसीपुर शाखाबाट युरिया १६ सय ४ दशमलव १० मेट्रिक टन, डिएपी ७ सय ३४ दशमलव ३० मेट्रिक टन र पोटास ४२ मेट्रिकटन मल र लमही शाखाबाट युरिया ६ सय अर्थात ८६ दशमलव ८० मेट्रिकटन, डिएपी २ सय अर्थात ६६ दशमलव ६ मेट्रिक टन र पोटास २० दशमलव ४५ मेट्रिक टन वितरण गरिएको छ । लिलाधर वलीले लेखेको याे समाचार गाेरक्ष दैनिक पत्रिकामा प्रकाशित छ ।

तपाईंको प्रतिक्रिया