तुलसीपुरका ६ विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने

 माघ २८, २०७९

तुलसीपुर । दाङको तुलसीपुरमा रहेका सामुदायिक विद्यालयहरूमा पढ्दै कमाउँदै कार्यक्रम सुरू भएको छ । तुलसीपुर उपमहानगरपालिकाका ६ सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

सहयोगी निकायको समन्वयमा सामुदायिक विद्यालयहरूमा उद्यमशीलता परियोजना सञ्चालन गरेर विद्यार्थीलाई यो कार्यक्रम सुरू गरिएको हो । पढ्दै कमाउँदै अभियानलाई विद्यालयस्तरका पु¥याउनका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको उपमहानगरले जनाएको छ । अभियानअन्तर्गत विद्यार्थीहरूलाई वन र कृषिक्षेत्रसँग सम्बन्धित विरूवा उत्पादन, बेमौसमी खेती, नर्सरी निर्माण लगायतका काम गरिनेछ ।

पहिलो चरणमा दिपेन्द्र मावि मानपुर, माध्यमिक विद्यालय दोघरे, सरस्वती मावि दमारगाउँ, बालमितेरी मावि भोजपुर, जनजागृति मावि पातु बनगाउँ र माध्यमिक विद्यालय सेन्टरमा यस्तो कार्यक्रम लागु गरिएको मेट्रो कलेज तुलसीपुरका प्रमुख बसन्त आचार्यले बताए । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई उद्यमशील कार्य गर्नका लागि कलेजले प्राविधिक तथा आर्थिक सहयोग गरेको उनले बताए ।

यसैबीच उद्यमशील कार्ययोजना निर्माणका लागि सम्बन्धित विद्यालयका विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरप्रमुख टिकाराम खड्काले विद्यार्थीहरूलाई सानैदेखि उद्यमशीलतामा लगाउनुपर्ने आवश्यकता रहेको बताए । नगरप्रमुख खड्काले आजभोलिका विद्यार्थीहरूमा सपना देख्ने तर काम नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै श्रमले नै मानिसलाई महान बनाउने कुरा उल्लेख गरे ।

पूर्वनगर प्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरूको काँधमा देशलाई उद्यमशील बनाउने जिम्मेवारी रहेको पनि बताए । देश विग्रियो भनेर हामी निराश हुने भन्दा पनि यसलाई कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो पाण्डेले भने ।

कार्यक्रममा विद्यार्थीहरूले उद्यमशील कसरी बन्ने भन्ने बारेमा जिज्ञासासमेत राखेका थिए  । कलेजका कार्यक्रम संयोजक अपिल आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण वन विज्ञान संकायका प्रशिक्षक सचिन सुवेदीले गरेका थिए । ग्रीन फाउन्डेसनका सचिव सुरेश रावतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई मेट्रो कलेज तुलसीपुर र ग्रिन फाउन्डेसनले सहयोग गरेका छन् ।

तपाईंको प्रतिक्रिया