क्याम्पस प्रशासनकाे लापरवाही, निर्वाचन अधिकृतले दिए राजीनामा
तुलसीपुर । राप्ती बबई क्याम्पस प्रशासनकाे चरम लापरवाहीका कारण स्ववियु निर्वाचनको मतदान रोकिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी समिर खानको गोजीमा २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि मतदान कार्य रोकिएको हो । समिर खान नेविसङ्घबाट विद्रोही उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार प्रभाष लामिछाने सम्वद्ध विद्यार्थी भएको बुझिएको छ । क्याम्पस प्रशासनको मिलोमतोमा सयौँ विद्यार्थीहरूको परिचयपत्र हराउनु र एउटै विद्यार्थीसँग २३ जनाको परिचयपत्र भेटिनुले सो कुरालाई पुष्टि गरेको विद्यार्थी नेता रविन वलीले बताउनुभयो । जसका कारण मतदान गर्न टाढाटाढाबाट क्याम्पसको गेटसम्म पुगेका विद्यार्थीहरु भोट नहालेर फर्किएका भएका छन् ।
यसैबीच राप्ती बबई क्याम्पस स्ववियु निर्वाचन अधिकृत टेकन कँडेलले राजीनामा दिनुभएको छ । निष्पक्ष रुपमा निर्वाचन गराउन नसकेको भन्दै तीब्र रुपमा आलोचना भएपछि कँडेलले राजीनामा दिन बाध्य भएको बुझिएको छ । कँडेलले निर्वाचन अधिकृतका रुपमा बसेर काम गर्ने वातावरण नभएको भन्दै क्याम्पस प्रमुख युवराज रावतलाई राजीनामा पत्र बुझाएका हुन । अब निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ ।
स्ववियु निर्वाचन चैत्र ५ गते तोकिएपनि विवादका कारण निर्वाचनको तालिका आज सारिएको थियो । नेविसंघका दुईवटा समूह निर्वाचनमा उत्रिएको र स्वतन्त्र समुहले धाधली गर्न खाेजेकाे आराेप लगाउदै नेविसंघले आपत्ति जनाएको छ ।


तपाईंको प्रतिक्रिया