ईपीएसको नतिजा सार्वजनिक

 बैशाख १७, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि परीक्षा दिएका आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो ।

गत ०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए ।

कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो । सो शाखाले ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको यही वैशाख २५ देखि जेठ ४ सम्म सीप परीक्षा हुने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया