सामुदायिक विद्यालय बन्द गर्ने घोषणा

 जेठ १७, २०८०

काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषद्ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

सरकारले सोमबार ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै बाध्य भएर विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्नु परेको परिषद्ले पत्रकार सम्मेलनमा बताएको छ ।

२० देखि २६ जेठसम्म विद्यालयको तालाचाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरू सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने, २७ जेठदेखि १ असारसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनशन बस्ने र २ असारदेखि माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको परिषद्ले जनाएको छ ।

सरकारले नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका माग सम्बोधन गर्ने गरी उल्लेख गरे पनि बजेटमा उल्लेख नगरेपछि विद्यालय कर्मचारी असन्तुष्ट छन् ।

उनीहरूले माग पूरा गराउनका लागि सामाजिक सञ्जाल, मिडिया तथा ज्ञापनपत्र, ध्यानाकर्षण पत्रमार्फत दबाब दिइरहेका छन् ।

तपाईंको प्रतिक्रिया