आन्दोलनरत विद्यालय कर्मचारीले रित्तो थाल बजाएर प्रदर्शन गर्ने

 जेठ २५, २०८०

अरुणकुमार नेपाली, दाङ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत गरेको बजेटमा माग सम्बोधन नभएपछि आक्रोशित बनेका विद्यालय कर्मचारीहरुले आन्दोलन थप सशक्त बनाउने भएका छन् ।विद्यालय कर्मचारीका सेवा सुविधा सम्बोधन गर्ने विषयमा सरकार अझै गम्भिर नभएको भन्दै उनीहरुले आन्दोलनलाई थप चर्काउने भएका हुन ।

बजेटले उपेक्षित गरेपछि गत जेठ २१ गतेदेखि विद्यालय कर्मचारीहरु निरन्तर धर्नामा बसिरहेका छन् । जिल्लाका सबै शिक्षा विकास तथा समन्वय इकाइमा उनीहरुले धर्ना दिइरहेका छन् ।आन्दोलनकै कार्यक्रम अन्तर्गत जेठ २७ गते केन्द्रिय राजधानी(काठमाण्डौ) मा रिले अनशन र रित्तो थाल बजाएर उनीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीका अनुसार सरकारलाई थप दबाव सिर्जना गर्न रित्तो थाल र चम्चा बजाएर विरोध प्रदर्शन गर्न लागिएको हो ।

‘रित्तो थाल र चम्चा बजाएर बिरोध गर्नुको अर्थ न्युन पारिश्रमिकमा काम गर्दा हामी भोकै छौ भन्ने संकेत हो, अध्यक्ष तिवारीले भने, अब त थालभरी पुग्ने गरी खान दे सरकार ।” न्युन पारिश्रमिकमा काम लगाएर सरकारले विद्यालय कर्मचारीमाथि श्रमशोषण गरिरहेको बताउदै अध्यक्ष तिवारीले तत्काल माग सम्बोधन नभए विद्यालय बन्द गर्नुको अर्को कुनै विकल्प नभएको बताए ।यद्यपीःविद्यालय बन्द पक्षमा विद्यालय कर्मचारीहरु नरहेको अध्यक्ष तिवारीले बताए । ‘उनले भने, सकेसम्म हामी विद्यालय बन्दको पक्षमा छैनौ,सरकारले वेलैमा माग सम्बोधन गरोस्,विद्यालय बन्द गर्ने वातावरण सिर्जना नगरोस्।,”
असार १ गतेसम्म पनि कुनै निकास ननिस्किए विद्यालय कर्मचारीहरु पूर्वघोषित कार्यक्रम अनुसार नै अघि बढ्ने अध्यक्ष तिवारीले बताए ।

सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सर्त र सुविधालाई सम्बोधन गरिने छ भनी उल्लेख छ । तर बजेट ल्याउदा उक्त कुरा नसमेटेपछि विद्यालय कर्मचारीहरु सरकारसंग चिढिएका छन् ।

तपाईंको प्रतिक्रिया