मावि उरहरीमा निःशुल्क पशु स्वास्थ्य शिविर, ६ सय पशुको उपचार

 जेठ २७, २०८०

तुलसीपुर । तुलसीपुर – ११ स्थित अमर माध्यमिक विद्यालयको आयोजनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँ घरमा रहेका पशुपालक किसानलाई सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा किसानहरु उत्साहित भएर पशुको जाँच तथा उपचार गराएका थिए । शिविरमा बाख्रा,गाई,भैसी,कुकुर , कुखुरा गरि झण्डै ६ सय पशुको उपचार गरिएको थियो । विभिन्न समस्या लिएर विद्यालय पुगेका पशुपालक कृषकलाई पशुमा देखिएको समस्या तथा निदानको बारेमा जानकारी गराईएको थियो । नि:शुल्क शिविरबाट किसानलाई आफ्नो पशुको उपचार पाउदा खुसी भएका छन ।

साथै जटिल किसिमको समस्या देखिएका पशुलाई उचित सल्लाह समेत प्रदान गरिएको डा.छविकिरण अधिकारीले बताएका थिए । शिविरमा प्रशिक्षक डा. आस्था अधिकारी,ल्वाव कर्मचारी सुनिता बुढाथोकी, पशु विज्ञान तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले सेवा दिएका थिए । विद्यालयले प्रत्येक बर्ष यसरी नै शिविरको आयोजना गर्दै आएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिएका छन । साथै ग्रामिण भेगका कृषकलाई उपचारमा सहुलियत तथा सामाजिक कार्यमा सेवा गर्ने हिसावले शिविर सञ्चालन गरेको उनले बताए ।

विद्यालयले पशु विज्ञान कार्यक्रम सञ्चालन गर्दै आएको हुदा गाँउ समाजमा पनि पशु सम्बन्धी उपचारको विकास गर्ने उद्देश्यले शिविरको आयोजना गर्ने गरेको प्रधानाध्यापक वलीले बताए । साथै पशु क्लिनीकबाट दैनिक जसो सेवा उपलव्ध हुदै आएको उनले बताए ।

तपाईंको प्रतिक्रिया