आईतवार देखि देशभरका सामुदायिक विद्यालय बन्द

 असार ०१, २०८०

दाङ । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परीषद्ले असार ३ देखि सामुदायिक विद्यालय बन्द गर्ने भएका छन । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा माग सम्बोधन नगरेपछि आन्दोलित बनेका कर्मचारीहरुले विद्यालय ठप्प पार्ने भएका हुन । आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ २१ गतेदेखि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएका थिए । जेठ २९ गते काठमाण्डौंमा जम्मा भई थाल बजाएर प्रदर्शन गरेका उनिहरुले माईतीघर मण्डलामा जारी राखेका छन ।

आफूहरूको माग सम्बोधनका लागि सरकारले वास्ता नगरेको भन्दै बन्दसहितको आन्दोलन गर्न बाध्य भएको परीषद्को भनाई छ । यसैविच,परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति, ७ वटै प्रदेश समिति र ७५३ पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यता दाङमा पनि कर्मचारीहरुले विद्यालय ठप्प पार्ने भएका छन । केन्द्रीय समितिको निर्देशन अनुसार विद्यालय बन्दको कार्यक्रम रहेको जिल्ला अध्यक्ष तप्त शर्माले जानकारी दिए । बन्दका बारेमा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक लाई जानकारी गराईएको अध्यक्ष शर्माले बताएका छन । अनिश्चितकालिन रुपमा थालिएको बन्द सफल पार्न जिल्लाका १० वटै पालिकाहरुमा आन्दोलन परीचालन समिति बनाईएको छ ।

यता परीषद्ले तुलसीपुरको शिक्षा महाशाखा लाई बन्दबारे जानकारी पत्र बुझाएको छ । केन्द्रीय उपमहासचिव डम्बर वली, केन्द्रीय सदस्य मित्रलाल शर्माको अघुवाईमा गएको टोलीले असार ३ देखिको बन्दबारे जानकारी पत्र बुझाएको हो । हाल लेखापालले १३ हजार पाँच सय र विद्यालय सहयोगीले ८ हजार रुपैयाँ मासिक रुपमा पाउँदै आएका छन् । उक्त तलब सुविधा समयोचित नभएको उनीहरुको भनाइ छ ।

विद्यालय सहायक लेखापाललाई ३४ हजार नौ सय दुई र विद्यालय सहयोगी (का.स.) लाई २६ हजार सात सय दुई रुपैयाँ मासिक रुपमा दिनुपर्ने माग अघि सारेका छन् । हाल देशभर लेखापाल ७ हजार एक सय अठहत्तर र विद्यालय सहयोगी २८ हजार आठ सय नब्बे जना रहेका छन् । लेखापाल र सहयोगी गरी जम्मा ३५ हजार अठसठ्ठी जना विद्यालय कर्मचारी रहेका छन् ।

 

तपाईंको प्रतिक्रिया