आजदेखि सामुदायिक विद्यालय बन्द

 असार ०३, २०८०

दाङ । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परीषद्ले आज देखि सामुदायिक विद्यालय बन्द गरेका छन । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा माग सम्बोधन नगरेपछि आन्दोलित बनेका कर्मचारीहरुले विद्यालय ठप्प पारेका हुन । आफूहरूको माग सम्बोधनका लागि सरकारले वास्ता नगरेको भन्दै बन्दसहितको आन्दोलन गर्न बाध्य भएको परीषद्को भनाई छ ।

यता दाङमा पनि कर्मचारीहरुले विद्यालय ठप्प पार्दै हिडेका छन । केन्द्रीय समितिको निर्देशन अनुसार विद्यालय बन्दको कार्यक्रम सफल पार्न लागेकाे केन्द्रीय सदस्य मित्रलाल शर्माले जानकारी दिए । बन्दका बारेमा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक लाई जानकारी गराईएको शर्माले बताएका छन । अनिश्चितकालिन रुपमा थालिएको बन्द सफल पार्न जिल्लाका १० वटै पालिकाहरुमा आन्दोलन परीचालन समिति बनाईएको छ ।

हाल लेखापालले १३ हजार पाँच सय र विद्यालय सहयोगीले ८ हजार रुपैयाँ मासिक रुपमा पाउँदै आएका छन् । उक्त तलब सुविधा समयोचित नभएको उनीहरुको भनाइ छ । विद्यालय सहायक लेखापाललाई ३४ हजार नौ सय दुई र विद्यालय सहयोगी (का.स.) लाई २६ हजार सात सय दुई रुपैयाँ मासिक रुपमा दिनुपर्ने माग अघि सारेका छन् । हाल देशभर लेखापाल ७ हजार एक सय अठहत्तर र विद्यालय सहयोगी २८ हजार आठ सय नब्बे जना रहेका छन् ।

लेखापाल र सहयोगी गरी जम्मा ३५ हजार अठसठ्ठी जना विद्यालय कर्मचारी रहेका छन् ।

तपाईंको प्रतिक्रिया