१९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट

 असार १०, २०८०

काठमाडौं  ।  शिक्षा मन्त्रालयले मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ। त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले विद्यालय छनोट गरेको मन्त्रालयले जनाएको छ। मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए। रकम स्थानीय तहमार्फत उपलब्ध गराइने छ। रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिने छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षणबाट उच्च अंक प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको हो ।

तपाईंको प्रतिक्रिया