ज्ञान ज्योति देशभरमै १०औं स्थानमा पर्न सफल

 असार १९, २०८०

तुलसीपुर । मुलुक भरबाट छनोट गरिएका ८ हजार ८ सय ६ मावि मध्ये ज्ञान ज्योति अब्बल १० औं स्थानमा छनौट भएको छ । एजुकेशन समाचार काठमाडौंले भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गरेको हो ।

सम्पूर्ण माविहरुमध्ये ५ सयबढी विद्यार्थी हुने माविलाई पहिलो मापदण्ड बनाइएको थियो । त्यसबाट छनौट भएका ८० माविहरुमध्ये कक्षा १२ मा उत्कृष्ट रिजल्ट ल्याएका २० वटा माविहरु छनौट भए । त्यसपछिको छनौट भएका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, र हालसम्मको शैक्षिक उपलब्धी, हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्ष र नागरिकहरुमा परेको प्रभावमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूचीतयार पारिएको हो । जसमा ज्ञान ज्योतिले १० औं स्थान हासिल गर्न सफल भएको छ ।

कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको माविले भविष्यका शैक्षिक योजना अन्तर्गत विद्यार्थी भर्ना २०८० लाई उत्साहपूर्ण बनाउने तथा स्नातक तहमा बिबिएस्, बिएस्सी, बिए र बिसीए अध्यापनमा विशेष जोड दिने तयारी गरिरहेको विद्यालयका शैक्षिक संयोजक शरद गौतमले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया