शैक्षिक सुधार तथा पेशागत विकासको लागि अन्तरक्रिया
तुलसीपुर । तुलसीपुरमा शैक्षिक सुधार तथा पेशागत विकास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटीको आयोजनामा कार्यक्रम भएको हो । नगर कमिटी अध्यक्ष होमराज डाँगीको अध्यक्षता तथा सङ्गठनका लुम्बिनी प्रदेश समितिका सचिव भागवत पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले नव नियुक्त शिक्षकहरुलाई र सरुवा हुने शिक्षकहरू लाई बधाई तथा शुभकामना दिदै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन भुमिका खेल्नुपर्ने बताएका थिए । शिक्षा परीवर्तनका लागि लाग्दा बिरोध हुने, नराम्रा टीकाटिप्पणी हुने स्वभाविक भए पनि आफू निरन्तर शिक्षा परिवर्तन गर्न लागेको बताएका थिए ।
कार्यक्रमका जिल्ला अध्यक्ष दामोदर बस्नेतले सम्पूर्ण शिक्षकहरूलाई नीति, विधि र प्रक्रिया भित्र रही काम गर्न निर्देशन गरेका थिए । साथै फरक विषयको प्रसङ्गमा हालै संसदमा पेश हुने भनिएको शिक्षा ऐन २०८०, शिक्षक कर्मचारीका निम्ति घातक र प्रतिकूल रहेको बताएका थिए । यसका लागि शिक्षक महासंघले भोलि देखि देश व्यापी रुपमा चरण बद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा शिक्षक संगठन दाङको पनि समर्थन रहेको बताएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले शिक्षा सुधारका लागि दरबन्दी मिलान देखि लिएर थुप्रै प्रयास गरिएको बताएका थिए । नगर कमिटी उपाध्यक्ष प्रेम नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले तुलसीपुर अध्यक्ष माधव ओली, शिक्षक संगठन जिल्ला समिति दाङका सचिव मिन राज शर्मा, नेपाल शिक्षक महासंघ दाङका सचिव नवराज डाँगी लगायतकाले बोलेका थिए ।
कार्यक्रममा छिमेकी पालिका समितिका अध्यक्षहरु, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका प्रअहरु,पूर्व प्रअहरु, निवृत्त शिक्षकहरु,सङ्गठनका पूर्व अध्यक्षहरु,सङ्गठनमा आवद्ध सम्पूर्ण सदस्यहरू लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटीका सचिव निर्मल वलीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया