देशभरका सामुदायिक विद्यालय आजदेखि ​बन्द

 असोज ०४, २०८०

काठमाडौं ।  नेपाल शिक्षक महास‌ंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय बिहीबारदेखि ​बन्द हुने भएको छ। शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो ।

महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाएर परिपूर्ति गर्ने महासंघले जनाएको छ। शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ।

आन्दोलनको पहिलो दिन बुधबार ७० हजारको हाराहारीमा शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका थिए। आज पनि बिहान १० बजे माइतीघरमा जम्मा भएर नयाँबानेश्वरसम्म नारा जुलुसहित विरोध जनाउने महासचिव सुवेदीले जानकारी दिए। पुन: माइतीघरमै फर्किएर विरोध सभा गर्ने तयारी रहेको उनले बताए। बिहीबार झन् शिक्षक संख्या बढ्ने उनको भनाइ छ।

तपाईंको प्रतिक्रिया