संसदमा आज शिक्षा विधेयक पेश गरिने

 असोज १४, २०८०

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिनको १ बजे बस्ने बैठकमा ४ वटा कार्यसूची राखिएका छन् । जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ । आजको बैठकमा शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक पेश गर्दैछन् । उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित सूचीमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय आयोग बनाउन आलटाल गरेकोले संसदको कारबाही अघि बढ्न नदिने बताइसकेको छ । एमाले सचेतक महेश बर्तौलाले असोज ५ गते नै आयोग बनाउनुपर्ने संसद्को सहमतिविपरीत सत्तारुढ दलहरू गएकोले संसद्को बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न खोजेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया