इप्रका तुलसीपुरको थुनुवा कक्षको लागी पुस्तकालय स्थापना

 असोज २७, २०८०

तुलसीपुर । तुलसीपुर नगर जेसीजले एक कार्यक्रमको आयोजना गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको छ। नगर जेसीजका अध्यक्ष जेसी सालिकराम वलीको अध्यक्षता एवं इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमूख ठाकुर प्रसाद पोख्रेलको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष बिमल पौडेल,मेघराज घिमिरे, मोहन सुनार लगाएतको उपस्थिती रहेको थियो । विभिन्न अपराध कार्यमा संलग्न रहि इलाका प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई लक्षित गरी बिभिन्न किसिमका पुस्तकहरु सहितको पुस्तकालय स्थापना गरिएको हो ।

जीवन उपयोगी पुस्तकहरु,चरित्र निर्माणका पुस्तकहरु,त्यसैगरी नेपालको संबिधान एवं कानुन सम्बन्धी पुस्तकहरु,लागु औषध निवारण सम्बन्धी पुस्तकहरु,सफल ब्यक्तिहरुको जीवनी तथा प्रेरणादायी पुस्तकहरु गरि करिव एक सय भन्दा बढी पुस्तकहरु सहितको र्याक उपलब्ध गराइएको छ। सो अवसरमा प्रमूख अतिथी समेत रहेका इलाका प्रहरी कार्यालयका प्रमूख ठाकुर प्रसाद पोख्रेलले थुनुवा बन्दीका लागि जेसीजले गरेको सो कार्यको प्रशंसा गर्दै बिभिन्न कारणले बन्दीका रुपमा रहेका ब्यक्तिहरुले ति जीवन उपयोगी तथा चरित्र निर्माणका पुस्तकहरु अध्ययन गरेमा उनिहरुको बाँकी जीवनले सार्थकता पाउन सहयोग हुने बताएका थिए ।

त्यस अवसरमा पुस्तक सौजन्य गर्ने सिस्ने पुस्तक पसल, डाङ्गी स्टेसनरी, राप्ती स्टेसनरी र नव ज्योति स्टेसनरीलाई धन्यवाद प्रकटगरिएको थियो। तुलसीपुर नगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा त्यस पुस्तकालय निर्माण कार्यक्रमका संयोजक जेसी शैलेन्द्र कुमार ओलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ बोर्ड सल्लाहकार जेसी छबि कुमार वलीले गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव जेसी सन्दिप भुसालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया