एमडीएमएसमा दर्ता नभएका माेबाइल १५ दिनपछि नचल्ने

 कार्तिक ०४, २०८०

काठमाण्डाै । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएको छ । प्राधिकरणले आज शनिवार सूचना निकालेर अबको १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नहुने मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ । यसको मतलब दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त हुँदैन ।

मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री/वितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ । तर पटक–पटक म्याद थप्दै आएको छ । गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठको १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो ।

तर फेरि पनि म्याद थपेको थियो । अब भने अन्तिम पटक १५ दिनका लागि समय दिइएको प्राधिकरणले जनाएको छ । यससँगै नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे ती अवैध सेट मानिनेछन् ।

तपाईंको प्रतिक्रिया