अनियमित तरिकाले परीक्षा दिने ४५ जनालाई लोक सेवाले कारबाही गर्‍यो

 मङि्सर १०, २०८०

काठमाडौं । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९/२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।

यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ । परीक्षा दिएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएका ३ जना, उत्तर पुस्तिका नबुझाई साथमा लिई गएका ३, अरूको उत्तर पुस्तिका लिई नक्कल गरेका १, अरूलाई उत्तर पुस्तिका सार्न दिएका १, उत्तर पुस्तिका च्यातेका २ र मूल उत्तर पुस्तिकामा नभई थप उत्तर पुस्तिकामा मात्र उत्तर लेखेका १ जनालाई आयोगले कारबाही गरेको छ । त्यसै गरी दरखास्त फाराम नै नभरी लिखित परीक्षा दिएका १ जना पनि कारबाहीमा परेको छ ।  यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया