तीन वटा प्रसारण लाइनको उद्घाटन

 पुष १९, २०८०

काठमाडौ । नेपाल र भारतबीच बिजुली खरिद बिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको आज उद्घाटन भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले आज कुशाहा–कटैया, परवानीपुर–रक्सोल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको विद्युत् व्यापारका लागि आजदेखि सञ्चालन भएका प्रसारण लाइन द्विपक्षीय ऊर्जा  व्यापारका निम्ति उपलव्धिपूर्ण भएको  बताउनुभयो । उहाँले दुई देशबीच बिजुली खरिदबिक्रीका लागि विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने विषयमा महत्वपूर्ण काम भएको बताउनुभयो । ती प्रसारण लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन । परवानीपुर–रक्सौल, कुशाहा कटैया प्रसारण लाइनको एक/एक वटा सर्किट सञ्चालनमा थिए । ती प्रसारण लाइनमा अर्को सर्किट थप गरेर डबल सर्किट गरिएको छ ।

आजदेखि सञ्चालन भएका प्रसारण लाइनको क्षमता एक सय ३२ किलोभोल्ट छ । ती प्रसारण लाइनबाट हाल ८० मेगावाट बराबरको बिजुली प्रवाह हुँदै आएको थियो । दोस्रो सर्किट सञ्चालनमा आएपछि थप ८० मेगावाट बिजुली प्रवाह गर्न सहज भएको छ । यसैगरी, न्यू नौतनवा मैनाहिया एक सय ३२ केभी प्रसारण लाइनको पनि आजै उद्घाटन भएको छ । डबल सर्किट क्षमताको सो प्रसारण लाइनबाट दुई सय मेगावाट बिजुली प्रवाह हुनेछ ।

तपाईंको प्रतिक्रिया