कलङखोलामा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनको अत्यधिक माग

 पुष २८, २०८०

तुलसीपुर । दंगीशरण गाउँपालिका वडा नम्बर २ कलङखोला दाङमा महिनाको अन्तिम शनिबारका दिन सञ्चालन हुने कृषि वन उपज हाटबजार आज तेस्रोपटक सम्पन्न भएको छ । स्थानीय उत्पादनको प्रोत्साहन, बजारीकरण र आर्थिक विकासमा टेवा पुग्ने हेतुले यो हाटबजार सञ्चालन हुदै आएको छ ।

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवम् दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालय कौवाघारी, कृषि विकास शाखा दंगीशरण गाउँपालिका हेकुलीको समन्वयमा हाटबजार सञ्चालन भएको  हो । तेस्रोपटकको हाटबजारमा १ लाख ४८ हजार ३ सय ४५ रुपैयाँको आर्थिक कारोबार भएको हाम्रो राजाकोट सहकारीका उपाध्यक्ष सिएम विश्वकर्माले जानकारी दिए ।

हाटबजारमा ताजा तरकारी तथा फलफुल, तरुल, गन्जी, चिउरीको मह, सिन्की, ढकिया, अम्रेसा झारु, डोकाडाला, लत्ताकपडा, खेलौना, किराना सामाग्री, थारु प्रकार ढिक्रि रोटि, हसियाँ, खुर्पा, चाकु, खुकुरी, चुलासी, फरुवा, कुटा, कोदाली, बन्चरो, स्टेसनरी सामाग्री लगायत कृषि वनमा आधारित उत्पादन वस्तु तथा सामाग्रीहरु हाटबजारमा रहेका थिए । हाटबजार सञ्चालन हुँदै गर्दा किसान सँगसँगै उपभोक्ताले खुसी व्यक्त गरेका छन् । स्थानीय उत्पादन पनि विक्रि हुने, आफुलाई चाहिएकाे वस्तु तथा सामाग्री र ताजा तरकारी समेत पाईने हुदाँ हाटबजार सञ्चालनले सहज बनाएकाे स्थानीय बासिन्दाहरु बताउँछन ।

यस अघि पहिलोपटक कार्तिक २५ गते सञ्चालन भएको हाट बजारमा ९४ हजार र दोस्रोपटक १ लाख १७ हजार रुपैयाँको आर्थिक कारोबार भएको थियोे । आजको हाटबजारमा माघि पर्वलाई लक्षित गरि थारु सास्कतीक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

तपाईंको प्रतिक्रिया