राष्ट्रिय सभा निर्वाचन आज

 माघ ११, २०८०

काठमाडौं । बीसमध्ये १९ नयाँ सदस्यहरुका   लागि राष्ट्रिय सभा निर्वाचन आज  बिहीबार सात प्रदेशमा हुन लागेको छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मत गणना हुनेछ । मतदानको आजै करीव ३ घण्टाभित्र प्राप्त हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको बताएका छन् ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना उम्मेदवार छन् ।

सात प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

तपाईंको प्रतिक्रिया