महिला दिवसका अवसरमा नौमती बाजा बजाउने महिलालाई सम्मान

 फागुन २३, २०८०

तुलसीपुर । एक सय चौधौँ महिला दिवसका अवसरमा नौमती बाजा बजाउने महिलाहरुलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका एवम यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको जनचेतना आमा समूहका तीस जना महिलाहरुलाई नौमती बाजा बजाउँदै आएकोमा सम्मान गरिएको हो ।

दुई वर्ष अघि आमा समूहमार्फत् दश लाखमा नौमती बाजा सेट खरिद गरेर समूहमार्फत् नौमती बाजा बजाउँदै आउनुभएको छ । समूहका अध्यक्ष कौशिला खड्काले विवाह,पूजा,व्रतबन्ध विभिन्न समारोह कार्यक्रममा दशदेखि ३० हजारसम्म शुल्क लिएर बाजा बजाउँदै आएको बताउनुभयो । बाजा बजाउने महिला समूहमा आबद्ध वाद्यबाधक महिलाहरुलाई सम्मान गर्दै नगरप्रमुख टीकाराम खड्काले उहाँहरुका लाथि थप प्रोत्साहन र हौसलाका लागि पालिकाबाट नै थप नौमती बाजा खरिद गरेर हस्तान्तरण गरिने बताउनुभयो ।

उहाँले अझै पनि समाजमा नौमती बाजा पुरुषले मात्रै बजाउने कला सीप छ भन्ने भनाई जनचेतना आमा समूहले चिर्न सफल भएको बताउनुभयो । दिवसकै अवसरमा पाँच जना महिला पत्रकारलाई सम्मानित गरिएको थियो । दिप्ती शिखा चौधरी,उमा भण्डारी,अञ्जना चौधरी,यमकला भुसाल र रमा परियारलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा जुत्ता सिलाउने पेशा अंगाल्नुभएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का बालकुमारी सार्की,वडा नम्बर १८का सीता सार्की र वडा नम्बर ६का विवा सार्कीलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा नौमती बाजा बजाएरै तुलसीपुर बजार क्षेत्रमा परिक्रममा गरिएको थियो ।

उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ६का पूर्व वडाध्यक्ष नवराज लामिछाने, महिला अधिकारकर्मी युवा करारा,सुष्मा लामिछाने, नागरिक समाजका पूर्व संयोजक टीकाराम रेग्मी,जर्मनी महिला अधिकारकर्मी बाबरा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास समितिका सदस्य वसन्ता केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिका विकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया