सीटीईभिटीको कार्यालय बुटवलमै, लमहीबाट सेवा प्रवाह भएन

देउखुरी । तत्कालीन सामाजिक विकास मन्त्री रत्न खत्रीले रिवन काटेर लमहीमा उद्घाटन गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को लुम्बिनी प्रदेश कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन । संस्था एउटा भए पनि त्यसका दुईवटा कार्यालय स्थापना भएका छन् । जसबाट राज्यको स्रोतको दुरुपयोग भएको छ । बुटवलमा रहेको कार्यालय लमही सार्ने, सेवा प्रवाह साउन १ गतेबाट शुरु गर्ने तयारीका साथ एक महिनाअघि कार्यालय उद्घाटन गरिएको थियो ।
प्रदेश सरकारको नेतृत्व र सामाजिक विकासमन्त्री फेरिनासाथ प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को लुम्बिनी प्रदेशका प्रमुखको बोली फेरिएको छ । उहाँले हतार र दबाबका बीच कार्यालय सारिएको दाबी गर्नुभयो । कार्यालय उद्घाटन पश्चात बल्ल घर भाडामा लिने सूचना प्रकाशित गरिएको सुनाउनुभयो । ‘प्रक्रिया मिचेर जान सकिदो रहेनछ । घरभाडामा लिनेबारे सूचना निस्किएको छ’– कार्यालय प्रमुख गोपाल आचार्यले भन्नुभयो– ‘रिवन त काटियो । बुटवलबाट कार्यालय त सार्ने हो तर कसरी लैजाने भन्ने कुरा छ ।’ कार्यालय स्थानान्तरणको विषयमा सामाजिक विकास मन्त्रालय र तत्कालीन मन्त्री रत्न खत्रीको प्रयासले कार्यालय उद्घाटनसम्मको स्थिति भए पनि कार्यालय प्रमुखको अटेरीका कारण एउटा संस्थाका दुई स्थानमा कार्यालय हुन पुगेको दशरथ घिमिरेले लेख्नुभएको यो समाचार नँया युगवोध दैनिकमा प्रकाशित छ ।
तपाईंको प्रतिक्रिया