लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक गिरीको राजीनामाले कांग्रेस भित्र विवाद

 भदौ ३१, २०८१

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले आफूले समय दिन नसकेको बताउँदै दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएकी छन् । पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज उठाइरहेकी सांसद गिरीको राजीनामाले कांग्रेसभित्र थप विवाद बढाएको छ । सो पार्टीका २७ जनामध्ये ९ महिला सांसद रहेकोमा उनीहरुमध्येबाट मन्त्रीमा समेटिनुपर्ने माग गर्दै गिरीकै नेतृत्वमा आइतबार संसदीय दलका नेतालाई दबाब सहितको पत्र बुझाइएको थियो ।

प्यूठानबाट समानुपातिक सांसद बनेकी उनी गठबन्धनबाट मन्त्री आकांक्षी भए पनि भागबन्डामा परिनन् । संसदीय दलमा संस्थापन समूहको बहुमत रहेको र उनी इतर समूहमा रहेकाले नसमेटिएको विषय बाहिर आएको थियो । मन्त्रीमण्डलमा नसमेटिएपछि यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए । सांसद गिरीले भने आफू मन्त्री नबनेका कारण राजीनामा नदिएको दाबी गरिन् ।

तपाईंको प्रतिक्रिया