एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

 पुष ०६, २०८१

काठमाडौँ ।   सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि भिडन्त हुँदै छ ।  यस एनपिएलमा सुदूरपश्चिम सबैभन्दा बढी (सात) खेल जित्ने टोली हो भने जनकपुरले कुल तीन हार सामना गर्नुपरेको छ। तीनमध्ये दुई हार जनकपुरले सुदूरपश्चिमसँग नै सामना गरेको हो। जुन प्रतिद्वन्द्वीसँग जनकपुर शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्दै छ। खेल मध्याह्न १२ः१५ बजे सुरु हुनेछ। यसै संस्करणमा तेस्रोपल्ट यी दुई आमनेसामने हुँदा क्रिकेटप्रेमी लागि बहुप्रतेक्षित खेल पनि बनेको छ। दुई दिनअगाडि नै फाइनलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

त्यसैले उद्घाटनमा जस्तै फाइनलमा पनि दर्शकको बाक्लो उपस्थिति हुनेमा दुई मत छैन। यसअघि यी दुईबीचको नतिजा हेर्ने हो भने सुदूरपश्चिम हाबी हुन सक्छ। तर, फाइनल खेल भएकाले दुवै दबाबमा पनि रहनेछन्। त्यसकारण फाइनल प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। एनपिएलको आधा खेल सकिँदा नै सुदूरपश्चिम र जनकपुरलाई स्वाभाविक रूपमा उपाधि दाबेदारका रूपमा हेरिएको थियो। सोहीअनुरूप प्रदर्शन हुँदा अनुमानअनुरूप नै सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त तय भयो। फाइनलमा जनकपुरले अली बढी दबाबमा महसुस गर्नेछ।

तपाईंको प्रतिक्रिया