कक्षा १२ को परीक्षा गराएर देखाउन शिक्षकहरूको चेतावनी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले वैशाख ११ गतेदेखि हुन लागेको परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने वा नहुनेमा अन्योल थियो । त्यही अन्योलबिच बोर्डले परीक्षा नरोक्ने र तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।
बोर्डले परीक्षा नरोक्ने निर्णय गरेपछि सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् ।
सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधिबिच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । बोर्ड बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष शर्माले परीक्षाको वातावरण बनाउन शिक्षकहरूलाई फेरि अनुरोध गर्ने निर्णय भएको बताए ।
सरकारले जसरी भए पनि परीक्षा गर्ने तयारी गरेपछि २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले भने देखाइदिने चेतावनी दिएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सरकारले आफूहरूको अनुपस्थितिमा परीक्षा सञ्चालन गरेर देखाउन चुनौती दिए । उनले निजामती कर्मचारीहरू परिचालन गरेर परीक्षा सञ्चालन गर्न लागेको विषयमा समेत आपत्ति जनाए । आफ्ना मागहरू सम्बोधन गर्नुका साटो कर्मचारी परिचालन गरेर परीक्षा गर्न खोजिएको खण्डमा प्रतिवादमा उत्रिने चेतावनी दिए ।
तपाईंको प्रतिक्रिया