लालपुर्जा वितरणका लागि सुरुभयो जग्गाको नापजाँच

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन,सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको पुर्जा वितरणका लागि जग्गा नापको कार्य सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले वडा नम्बर ६ को शिवशक्ति टोलमा आज देखि जग्गा नाप्न सुरु गरेको हो । यस अघि सोही वडाबाट जग्गा नापको काम सुरु भएकोमा आयोग विघटन भएपछि काम स्थगन भएको थियो ।
वडा नम्बर ६ को कावा अध्यक्ष यमुना परियारको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतको विशिष्ठ आतिथ्यमा एक कार्यक्रममा विच जग्गा नापको काम सुरु भएको हो ।
नगर प्रमुख टिकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजारको निवेदन दर्ता भएको बताए । आफु निर्वाचित भएपछि पहिलो बैठकबाट लालपूर्जा वितरण गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेतापनि पटक पटक आयोग विगठन हुँदा कार्यान्वयनमा समस्या आएको बताए । उपमहानगरले जग्गा उपभोग कार्ड वितण गरेको हुदा उक्त कार्डले समेत जग्गा नापमा सहजता मिल्ने उनले बताए । नगर प्रमुख खड्काले भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपूर्जा वितरण गरिने समेत बताएका थिए ।
त्यस अवसरमा बोल्दै आयोगका अध्यक्ष बस्नेतले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा बाड्नका लागि जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए । देउखुरीमा पहिलो चरणको पुर्जा बाड्ने काम अन्तीम चरणमा रहेको बताउदै तुलसीपुरमा सुरुमा भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने बताएका थिए ।
वडा सदस्य देवि पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशबराज पार्धे, मालपोत कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर खडका, नापी कार्यालयका प्रमुख झमलाल गाहा, कार्यपालिका सदस्य लक्ष्मण बिश्वाकर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य यमराज केसीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया