सहकारी संस्थाले पारदर्शीता र सेवामूलक कार्यमा ध्यान दिन आबस्यक: नगर प्रमुख खड्का

तुलसीपुर | सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तुलसीपुर दाङको १६औं स्थापना दिवस सम्पन्न भएको छ । औपचारिक कार्यक्रमका साथै रक्तदान कार्यक्रमको आयोजना गरेर सहयोगी सहकारीले स्थापना दिबस मनाएको हो ।
संस्थाका अध्यक्ष डिलाराम बिष्टको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत संघ दाङका अध्यक्ष बिमल अधिकारी र संस्थाका निवर्तमान अध्यक्ष तथा सहकारी संघ लुम्बिनी प्रदेशका सचिव रुप बहादुर खत्रीको बिशिस्ट आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सहकारी संस्थाहरूले समुदायको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, संस्थाले अझ पारदर्शी र सेवामूलक कार्यहरूमा ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा सहकारी क्षेत्रप्रति आम नागरिकको विश्वासमा कमी देखिएको अवस्थामा सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पारदर्शी र विश्वासिलो कार्य प्रणालीमार्फत उत्कृष्ट उदाहरण पेश गरेको प्रमुख खड्काले बताउनुभयो ।
संस्थाका अध्यक्ष डिलाराम बिष्टले संस्थाले १६ वर्षको यात्रामा सदस्यहरूको विश्वास र सहभागिताबाट महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। उहाले आगामी दिनहरूमा थप उत्कृष्ट सेवा र कार्यक्रमहरू मार्फत संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि जिल्ला बचत संघ दाङका अध्यक्ष बिमल अधिकारीले सहकारी संस्थाहरूले वित्तीय सशक्तिकरणमा खेलेको भूमिकाको चर्चा गर्नुभयो । उहाले सहकारीहरूबीच आपसी सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताए।
त्यस्तै, संस्थाका निवर्तमान अध्यक्ष तथा सहकारी संघ लुम्बिनी प्रदेशका सचिव रुप बहादुर खत्रीले संस्थाको प्रारम्भिक अवस्था देखि हालसम्मको यात्रामा आएको विकासको समीक्षा गर्दै, संस्थाले प्रदेशस्तरमै उदाहरणीय कार्यहरू गरेको बताउनुभयो । उहाले सहकारी क्षेत्रलाई अझ व्यवस्थित बनाउन नीतिगत सुधार र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष लाल बहादुर केसीले संस्थाको स्थापना इतिहास, उद्देश्य, हालसम्मका गतिविधिहरू र भविष्यका योजनाहरूको विस्तृत जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव दुर्गा प्रसाद शर्माले गरेका थिए। कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए भने, संस्थाको विकासमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो।
तपाईंको प्रतिक्रिया