तुलसीपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ
दाङ । दाङ प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ २७ गते अपराह्न करिब ४ः३० बजे तुलसीपुर उपमहानगरपालिका–११ उरहरीस्थित एक हेयर सेलुनमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जस्पुरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेयर सेलुन सञ्चालक वर्ष १९ का दीपक विक, सेलुनमा रहेका वर्ष २१ का आकाश चौधरी, वर्ष २४ का ध्यानी बाठा मगर र वर्ष २० का राजन केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको शरीर खानतलासी गर्दा राजन केसीको साथबाट ३.९५० ग्राम र सेलुनको धरिमा लुकाएर राखेको अवस्थामा थप १३.३३० ग्राम गरी जम्मा १६.४७० ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनालाई सम्मानित दाङ जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।




तपाईंको प्रतिक्रिया