तुलसीपुरमा इमिस सत्यापन सम्बन्धी दुईदिने तालिम

 १८ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले सामुदायिक विद्यालयका  लागि आयोजना गरेको IEMIS अद्यावधिक तथा सत्यापनसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।

असोज १ र २ गते सञ्चालन भएको तालिममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गत आधारभूत तह कक्षा ८ तथा माध्यमिक तह सञ्चालन भएका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको   सहभागिता रहेको थियो। विद्यालयको शैक्षिक विवरणलाई व्यवस्थित रूपमा राख्ने, EMIS मा विवरण अद्यावधिक गर्ने तथा डाटाको सत्यापन गर्ने विषयमा तालिममा जानकारी प्रदान गरिएको थियो।

तालिमको समापन कार्यक्रम शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले विद्यालयका तथ्यांक तथा डाटाबेसलाई व्यवस्थित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयका विद्यार्थी, शिक्षक तथा शैक्षिक गतिविधिसँग सम्बन्धित विवरण सही र समयमै अद्यावधिक भएमा योजना निर्माण तथा शैक्षिक व्यवस्थापनमा समेत सहज हुने बताउनुभयो।

तालिममा शिक्षा अधिकृत मनबहादुर खड्का प्रशिक्षकका रूपमा रहनुभएको थियो। उहाँले EMIS मा विवरण प्रविष्टि, अद्यावधिक, सत्यापनलगायतका विषयमा सहभागी शिक्षकहरूलाई सहजीकरण गर्नुभएको थियो।

समापन कार्यक्रममा शिक्षा महाशाखा प्रमुख  भण्डारीले विद्यालयमा संकलन हुने तथ्यांकलाई केवल औपचारिकताका रूपमा नलिई विश्वसनीय र तथ्यपरक डाटाबेस निर्माणमा शिक्षक तथा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। तालिमबाट प्राप्त ज्ञानलाई विद्यालयमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरिएको थियो । तालिममा ३७ जनाको सहभागिता थियो ।

तपाईंको प्रतिक्रिया