सरकार र शिक्षकका बिच भएको सहमतिका बुँदा यस्ता छन

काठमाडौं । आज सरकारसँग भएको ९ बुँदे सहमतिसँगै २९औं दिनदेखि जारी शिक्षकको सडक आन्दोलन फिर्ता भएको छ । विगतका सहमति/सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ असारभित्र प्रतिनिधिसभाबाट पारित गर्न संसदीय समिति, सत्तापक्षका दलका प्रमुख सचेतकहरूबाट समेत लिखित प्रतिवद्धता व्यक्त भएको छ ।
शिक्षक महासंघले सहमतिपछि विज्ञप्ति निकाल्दै समयमा ऐन जारी हुने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न अनुरोध गरेको छ । शिक्षामन्त्री र सरोकारवालामन्त्रीसमेतको उपस्थितिमा लगातार ३ दिनको वार्ता आज सहमतिमा टुंगिएको हो । ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्बाट पारित गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पीएस गुरुङले बताए ।
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।
तपाईंको प्रतिक्रिया