दाङमा सुनचाँदी व्यवसायी आन्दोलित, विहिवार पसल बन्द गर्ने

 जेठ २९, २०८२

तुलसीपुर । दाङका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । संघीय सरकारले सुनका गरगहना सम्बन्धी नयाँ प्रावधान ल्याउन लागेको भन्दै त्यसका विरुद्धमा उनीहरु आन्दोलित भएका छन् । सरकारले आगामी आर्थिक वर्ष देखी लागु हुनेगरी सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगाएतका बहुमुल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने जस्ता प्रावधान ल्याउन लागेको भन्दै देशभर व्यवसायीहरु आन्दोलत भएका छन् ।

सोहि अन्र्तगत जिल्लाका सुनचाँदी व्यवसायीहरुले बुधवार तुलसीपुर,घोराही र लमहीमा हस्ताक्षर संकलन कार्यक्रम गरेका छन् । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरको आयोजनामा बुधवार विपिचोकमा हस्ताक्षर संकलन गरिएको महासचिव तुलसीराम सुनारले जानकारी दिनुभयो । उहाका अनुसार संघका उपाध्यक्ष मनोज शाहको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सो अवसरमा संघका सल्लाहकार मिनराज वली र निवर्तमान उपाध्यक्ष ईन्द्रविर डाँगीले सरकारले ल्याउन लागेको निति व्यवसायी र ग्राहकहरुको हित विपरित भएको भन्दै विरोध जनाउनु भएको छ । सरकारले यस बारेमा तत्कालै निति सच्याउनु पर्ने उनीहरुले माग गरेका छन् ।  उनीहरुले बजारमा मूल्य अस्थिर हुँदै गएको र ग्राहकको खरिद क्षमता घट्दै गएको अवस्थामा सरकारले यस्तो निति ल्याउनु उचित नभएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

सुनचाँदी केवल धातु नभई नेपाली समाजको संस्कार, संस्कृति र परम्परासँग जोडिएको बस्तु भएकोले यसको कारोबारलाई अतिरिक्त करको भारमा पार्न नहुने व्यवसायीहरुको माग रहेको छ ।
यस्तैगरी घोराहीमा पनि घोराही सुनचाँदी व्यवसायी संघको आयोजनामा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल हस्तकला महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सयुंक्त निर्देशन अनुसार जिल्लामा विरोधको कार्यक्रम आयोजना गरिएको महासचिव सुनारले जानकारी दिनुभयो ।

सोहि अनुसार विहिवार जिल्लाका सम्पुर्ण सुनचाँदी पसलहरु बन्द हुने भएका छन् ।साथै संघको अघुवाईमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि घोराहीमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उहाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया