तुलसीपुरको स्थानीय पाठ्यक्रम अद्यावधिकको लागि सुझाव संकलन

तुलसीपुर । तुलसीपुर उपमहानगरले स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अद्यावधिकको लागि सुझाव लिएको छ । विद्यालयमा पढाई हुने स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अध्यावधिक गर्न लागिएको हो । सोमबार तुलसीपुर क्षेत्रमा रहेका पत्रकारसंग सुझाव संकलन गरिएको छ । त्यस अवसरमा पत्रकारले स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ मा तुलसीपुरको इतिहास,मेला, सहकारी शिक्षा, स्थानीय सफल व्यक्तित्वका जीवनी लगायतका विषयवस्तु समेटिनुपर्ने बताएका छन् ।
विद्यार्थीहरुले बुझ्ने गरि सरल खालको भाषा र शैलि हुनुपर्ने बताएका थिए । पाठ्यक्रममा धेरै कुरा समेटिएतापनि त्रुटीहरु सच्याउदै थप पर्यटकिय क्षेत्रको विषयबस्तु गहिरो गरि अध्ययन गरि समेट्न सुझाव दिएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा, गोरक्ष दैनिकका बालाराम खड्का, रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जी।एम। राप्ती पहिचानका यज्ञ बहादुर बुढा, शितलपुर अनलाइनका जयन्ती चौधरी लगायतले कितावमा लेखिएका पाठमा शुद्धाशुद्धी सच्याउनुपर्ने, सहि अर्थ दिनेगरी वाक्य लेख्नुपर्ने, छपाईमा गुणस्तरियता हुनुपर्ने बताएका थिए ।
शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले ‘हाम्रो तुलसीपुर’लाई अध्यावधिक गर्नका लागि अहिले सुझाव संकलन गरिरहेको बताएका थिए । शिक्षक, विद्यार्थीको सुझाव लिईसकेको बताउदै थप विषयवस्तु समेटेर अघि बढ्ने बताएका थिए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र भण्डारीले हाम्रो तुलसीपुरमा धेरै विषयवस्तु समेट्न खोजिएपनि केहि सुधार गर्नुपर्ने कुराहरु पनि रहेको बताएका थिए ।
यस्तै, भाषा सम्पादक गोकर्ण पौडेलले भाषिक शुद्धता थप सच्याएर अघि बढ्ने बताएका थिए । कार्यक्रमको सहजीकरण शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काले गरेका थिए । स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तुलसीपुर उपमहानगरपालिकाका विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन भइरहेको छ ।
तपाईंको प्रतिक्रिया