सडकमा पशुचौपाय नबाँध्न वडाकाे ७ दिने अल्टिमेटम

 भदौ १७, २०८२

तुलसीपुर । सार्वजनिक बाटो स्थलमा जथाभावी पशुचौपाया नबाँध्न तुलसीपुर उपमहानगरपालिकाले वडा नं.१३ ले सम्बन्धित सबैमा आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै वडा कार्यालयले बाटोको छेउछाउमा पशुचौपाया पशुचौपाया बाँध्ने कार्यले सडक दुर्घटनाको जोखिम बढाएको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।पछिल्लो समय वडा कार्यालयको सेवा क्षेत्रभित्रका मूलबाटो तथा गाउँबस्तीका भित्री सहायक बाटोको छेउछाउमा सडक नै अवरुद्ध हुने गरी गाई,भैँसी लगायतका पशुचौपाया बाँध्ने क्रम बढ्दै गइरहेको छ ।

सडक नै मिचेर किसानहरुले पशुचौपाया बाँध्न थालेपछि आवागमनमा समेत असहजता पैदा भएको छ ।दुर्घटना निम्त्याउने गरी नै कतिपयले सडक छेउमै पशुचौपाया बाँध्नु भएको छ,‘वडाध्यक्ष मोहन पौडेलले भन्नुभयो,यो कार्य सबैले तत्काल रोक्नु पर्छ । कसैले अटेरी गरे कानुन अनुसार कारवाही हुन्छ ।’

सार्वजनिक सडकमा बाँधिएका आ—आफ्ना पशुचौपाया हटाउन वडाले ७ दिनको समय समेत दिएको छ । तोकिएको समयसीमा भित्र सडकमा बाँधिएका पुशचौपाया नहटाए वडाले कानुनी प्रक्रिया अघि बढाउने वडाध्यक्ष पौडेलले बताउनु भयो ।

साथै सडकमा बाँधिएका पशुचौपायाका कारण कुनै दुर्घटना भई क्षति पुगेमा पशुचौपायाका धनीलाई कानुन बमोजिम कारवाही हुने वडाध्यक्ष पौडेलले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया