मौन अवधि सुरु हुनै लाग्दा रास्वपाले मदिरा र खाद्यान्न बाँढ्न थालेको हो ?
सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार बिहान करिब ८ बजे, गाडीमा रक्सी ७ कार्टुन, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो।
पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स समेत रहेको थियो। मौन अवधि सुरु हुनै लाग्दा गाडीमा मदिरा र खाद्यान्न लोड गरिएकोले निर्वाचन आचारसंहिता विपरित भएको भन्दै स्थानीयमा विरोध सुरु भएको छ। घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।
जिप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि रहेको दाबी गर्नुभयो। ती सामग्री कृति बहादुर रानाको भएको बताइएको छ। रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री राखिनु चालकको कमजोरी भएको बताएका छन्।
उहाँले भुलवश वा अन्जानमा भएको गल्ती स्वीकार गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नभएको र चालकले आफ्नै विवेकमा यस्तो गरेको उल्लेख गर्नुभयो। हाल उक्त सामग्रीसहितको गाडी प्रहरी नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
गाेरखापत्रबाट साभार



तपाईंको प्रतिक्रिया