दाङ – ३ चासोको केन्द्र: चार दलमध्ये कसले मार्ला बाजी ?
तुलसीपुर । दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला चासोको केन्द्र बनेको छ । मुख्यतः चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले) बाट घनश्याम पाण्डे , नेपाली काँग्रेसका दीपक गिरी, नेपाली कम्युनिष्ट पार्टिका धन बहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विच प्रतिष्पर्धा हुने देखिएको छ ।
२०७९ को आधार र वर्तमान अवस्था
२०७९ सालको निर्वाचनमा कांग्रेसका दीपक गिरी ३६ हजार ८ सय ८२ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी थिइन् । त्यसबेला कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन एकातिर थियो भने एमाले एक्लै मैदानमा उत्रिएको थियो । उक्त निर्वाचनमा रास्वपाका कमल सुवेदीले १५ हजार ३ सय मत ल्याएका थिए । समानुपातिकतर्फ कांग्रेसले २६ हजार ५७५, एमालेले २६ हजार ११७, रास्वपाले १५ हजार ४१० र माओवादी केन्द्रले १० हजार १२६ मत पाएका थिए। यस आधारमा कांग्रेस पहिलो र एमाले दोस्रो शक्ति देखिए पनि मतान्तर अत्यन्तै कम थियो ।
कांग्रेसभित्रको उतारचढाव
पछिल्लो राजनीतिक घटनाक्रमले कांग्रेसभित्र एकरूपता कायम रहने कि नहुने भन्ने प्रश्न उठाएको छ। विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएपछि ‘बद्लिएको कांग्रेस’ को सन्देश दिन खोजिए पनि स्थानीय तहमा संगठन पूर्ण रूपमा एकढिक्का हुनेमा अझै शंका देखिन्छ। उही उम्मेदवार पटक–पटक दोहोरिँदा मतदातामा नयाँपनको अभाव महसुस भएको टिप्पणी पनि सुनिन्छ।
एमालेको भरोसा र पाण्डेको छवि
एमालेले २०७९ को समानुपातिक मत २६ हजारभन्दा बढी जोगाउन सके जित सुनिश्चित हुने विश्लेषण गरिरहेको छ। यद्यपी पुराना पार्टी प्रति जनतामा निराशा बढेकोले उक्त मत जोगाउन चुनौती छ । पार्टीले कमजोर मानिएका क्षेत्रहरूमा संगठन विस्तार र घरदैलो अभियान तीव्र पारेको दाबी छ । २०७४ मा तुलसीपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका घनश्याम पाण्डेले कार्यकालमा गरेका कामलाई मुख्य आधार बनाएका छन् । कोरोना महामारीका बेला जनसुरक्षामा देखाएको सक्रियता, सुत्केरी महिलाका लागि सहयोग कार्यक्रम, प्राविधिक शिक्षामा नयाँ आयाम र पूर्वाधार विकासका योजनालाई उनी आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन्। प्रदेश तथा संघीय निर्वाचनमा पहिलो पटक होमिएका पाण्डे “नयाँ अनुहार” का रूपमा मतदाताको रोजाइमा पर्न सक्ने आकलन एमाले वृत्तमा गरिएको छ।
नेकपालाई चुनौती
धन बहादुर मास्की २०७९ मा प्रदेश सांसद निर्वाचित भएका थिए। गठबन्धनको साथमा २२ हजार ३ सय २१ मत ल्याएर जितेका मास्कीले केही विकासका काम अघि बढाए पनि यसपटक संगठनात्मक चुनौतीका कारण प्रतिनिधि सभामा आवश्यक मत संकलन गर्न कठिन हुने अनुमान गरिएको छ।
रास्वपाको उतारचढाव
२०७९ मा पहिलो पटक निर्वाचनमा होमिएको रास्वपाले १५ हजार मत ल्याएर उल्लेख्य उपस्थिति देखाएको थियो । यसपटक पनि पुराना दलप्रति असन्तुष्ट मत आकर्षित गर्ने प्रयासमा छ। तर अघिल्लो निर्वाचनपछि जनसम्पर्कमा कमी देखिएको आरोप र पार्टी नेतृत्वमाथि उठेका विवादका कारण आकर्षण केही घटेको विश्लेषण भइरहेको छ।
अन्तिम घडीको परीक्षा
निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ। सबै दल आफ्नो आधार मत जोगाउन र अनिर्णीत मतदाता तान्न अन्तिम प्रयासमा जुटेका छन्। चुनावी सभाहरू, घरदैलो अभियान र सामाजिक सञ्जाल प्रचार चरमोत्कर्षमा पुगेका छन्। यद्यपि, अन्तिम निर्णय मतदाताको गोप्य मताधिकारमै निर्भर रहनेछ। दाङ–३ को मतपेटिकाले २१ गतेपछि मात्रै कसको भाग्य लेख्ने हो, त्यो समयले नै तय गर्नेछ।



तपाईंको प्रतिक्रिया